प्रधानमन्त्रीको भारत भ्रमणको सफलतामा प्रतिपक्षको रोइलो

‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूले घर बनाएको पनि देखिसहँदैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा गरेका ऐतिहासिक सम्झौताको नेपालमा विरोध हुनुलाई सोही नेपाली उखानसँग तुलना गरिएको छ । मित्र राष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा पाएको सम्मानले प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निद हराम भएको पुष्टि उनका अभिव्यक्तिमा झल्किएको सबैले देखेकै विषय हो ।
यसअघि प्रायजसो विदेशी अतिथिको स्वागतका लागि भारतले राज्यमन्त्रीलाई विमानस्थल पठाउने गरेको भए पनि यसपटक प्रधानमन्त्री देउवाको स्वागतका लागि भने विदेशमन्त्री सुष्मा स्वराजलाई खटायो । कूटनीतिक वृत्तमा यसलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि गणतन्त्र नेपालको प्रथम राष्ट्र प्रमुखका रूपमा भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतका लागि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैँ विमानस्थलसम्म आएका थिए । नेपालको परिवर्तनलाई छिमेकी मित्रराष्ट्र भारतले खुलेर आत्मसात् गरेको भन्दै त्यसवेला पनि अन्तर्राष्ट्रिय रूपमा नै चर्चा भएको थियो ।
बुधबार अपरान्ह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली पुग्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागतका लागि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइन् । पछिल्लो समय उग्रराष्ट्रवादका नाममा एमालेलगायतका केही दलले चलाएको भारतविरोधी अभियानका कारण दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो । प्रधानमन्त्री देउवाको भ्रमणमा भारतले कस्तो व्यवहार देखाउला भन्नेमा सर्वत्र कौतुहल देखिएको थियो । भारतले नेपालका प्रधानमन्त्रीलाई दिएको सम्मानले आमनेपालीको शिर उच्च बनाएको छ भने त्यही विषय विपक्षीहरूका लागि भने टाउको दुखाइको विषय बन्यो ।
भारतीय प्रधानमन्त्री मोदीले बुधबार अपराह्न ५ बजे प्रधानमन्त्री देउवालाई आफ्नै निवासमा बोलाएर आधा घण्टा एक्लाएक्लै भेटवार्ता गरेपछि धारत तथा नेपालका कूटनीतिज्ञहरू पनि चकित परे । काठमाडौं र नयाँ दिल्लीका सञ्चार माध्यममा यसले ठूलै तरंग पैदा गर्यो । यसले नेपाल र नेपालीप्रति भारतीय सरकारले दिएको उच्चसम्मानका रूपमा लिइएको छ । तर, विपक्षीहरूले भने यसलाई गलत अर्थमा व्याख्या गरे । त्यही गलत व्याख्ख्यालाई चिर्नका लागि नेपाल मामिलाका जानकार एसडी मुनीले ट्वीटरमार्फत ‘दुई प्रधानमन्त्रीबीच भएको वार्तालाई हल्का रूपमा नलिन’ आग्रह गरे ।
औपचारिक कार्यक्रम तालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाको भेटवार्ता बिहीबार बिहान ११ बजेका लागि तय गरिएको थियो । तर, १८ घण्टाको बीचमा मोदी र देउवाको भेटवार्ता तीनपटक भयो । विगतमा भारत भ्रमणमा जाँदा नेपालका प्रधानमन्त्रीले यस्तो अवसर विरलै पाउने गरेका थिए । त्यति मात्र होइन, भारतसँग भएको ८ बुँदे सम्झौता र ४६ बुँदे संयुक्त विज्ञप्तिले नेपाल र भारतबीच रहँदै आएको आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको भन्दै कूटनीतिज्ञहरूले प्रधानमन्त्री देउवाको तारिफ गरेका छन् ।
भारतले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन चाहेको र विगतको तिक्ततालाई मेटाउन चाहनुलाई नेपालको कूटनीतिक सफलताका रूपमा लिइएको छ । नेपाल–भारतबीचको संयुक्त विज्ञप्तिबाट पनि बुझ्न सकिन्छ कि स्वयम् प्रधानमन्त्री देउवा र वर्तमान सत्तागठबन्धनको सार्थक प्रयासका कारण नै यो सबै सम्भव भएको हो । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अत्यन्त सफल रहेको र यसले दुईपक्षीय हितमा दीर्घकालीन महत्व राख्ने बताएको छ ।
केही समयअघि नेपालमा आएको बाढीका कारण सयौँ नेपालीले ज्यान गुमाए भने अर्बाैं रुपैयाँबराबरको धनजनको क्षति भयो । त्यसको दीर्घकालीन समाधानका लागि देउवाले भारतसँग गरेको गम्भीर वार्ताकै प्रतिफलस्वरूप संयुक्त विज्ञप्ति आउन सफल भएको हो । विज्ञ समूह गठन गरी डुबान समस्याको दीर्घकालीन समाधान गर्ने, नदी नियन्त्रण गरी सिंचाइ र ठूला जलविद्युत् आयोजनाको निर्माण गर्ने विषयमा पनि सहमति हुनुले नेपाल र भारतको दुवै देशको हित हुनेमा आशंका छैन । झन्डै २० वर्षअघि पनि देउवाकै पालामा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गर्ने सहमति भएको थियो ।
सो परियोजनाको कामलाई प्रधानमन्त्रीको भ्रमणपछि प्राथमिकताकासाथ अघि बढाउने सहमति भएको छ ।
तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यको पालामा सुरु भएको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम एमालेकै कारण अवरुद्ध भएको थियो । सो जलविद्युत् परियोजनालाई तत्काल अघि बढाउने सहमतिले जलविद्युत्को क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनेछ र नेपाललाई लोडसेडिङमुक्त बनाएर नेपालको औद्योगिक विकासमा फड्को मार्न सकिनेमा द्विविधा छैन ।
वर्षाैंदेखि तराईमा देखिँदै आएको डुबानको समाधानका लागि कोशी बहुउद्देश्यीय परियोजनाको कार्यान्वयन अत्यन्त जरुरी थियो । यसबाट तराईले भोग्दै आएको अनियन्त्रित डुबानको समस्या पनि समाधान मात्र हुँदैन, विद्युत् उत्पादन, सिंचाइ र कृषिक्षेत्रमा पनि टेवा पुर्याउने काम गर्छ । यसअघि भारतले भूकम्पपछिको पुननिर्माणमा गर्ने प्रतिबद्धता जनाएको रकम पनि प्रधानमन्त्रीको भारत भ्रमणसँगै प्राप्त हुने पक्का भएको छ ।
नेपाली संसद्लाई कुनै जानकारी नदिई मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै २०७२ पुस ५ गते ओली नेतृत्वको मन्त्रिमण्डलले गरेको चारबुँदे निर्णय लिएर भारतको समर्थन बटुल्न दिल्ली पुगेका कमल थापालाई भारतले विश्वास गरेन । तर, देउवाले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्न आफू प्रतिबद्ध रहेको भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्री देउवाको कार्यशैलीबाट प्रभावित भारतले उनीमाथि गरेको विश्वासलाई विपक्षीहरूले नकारात्मक रूपमा व्याख्या गर्नु हास्यास्पद छ ।
 भारतसँगको सम्झौताले नेपाललाई प्राप्त हुने दीर्घकालीन फाइदाका प्रधानमन्त्री देउवाले पाउने जस र उनले भारतमा पाएको उच्च सम्मानका कारण जलेको एमाले अहिले रोइलो काढिरहेको छ । आफू काम पनि नगर्ने र अरूले गरेको राम्रो कामको पनि विरोध गर्ने प्रवृत्ति एमालेको पुरानो रोग भएकाले यसमा अचम्म मान्नुपर्ने केही नभएको विश्लेषण कूटनीतिज्ञहरूको छ ।
साभारः harekpal.com

Comments

Popular posts from this blog

डराए केपी ओली, मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए

प्रचण्ड कसरी सफल, देउवा किन असफल ?

जानकारी: राजनेता गिरिजा प्रसाद कोईराला